नियम ६५
पुनरावेदनको अनुमतिको निवेदन
(१) राजस्व न्यायाधिकरणले गरेको कुनै फैसलामा चित्त नबुझ्ने व्यक्तिले राजस्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८ बमोजिम पुनरावेदनको अनुमति पाउँ भनी सम्बन्धित अधिकारी समक्ष स्पष्ट बुझिने सम्बन्धित निर्णय तथा फैसलाको प्रमाणित नक्कल कागजात संलग्न गरी अनुसूची–३ बमोजिमको दस्तुर सहित अनुसूची–८ को ढाँचामा निवेदन दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम दिने निवेदनमा नियम १३ मा उल्लिखित कुराका अतिरिक्त पुनरावेदनको अनुमति पाउने स्पष्ट आधार उल्लेख गर्नु पर्नेछ ।
(३) पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन उपर प्रारम्भिक सुनुवाइ गर्दा निवेदकको माग बमोजिम पुनरावेदनको अनुमति दिनु पर्ने देखिएमा इजलासले सोको कारण खुलाई पुनरावेदनको अनुमति दिने आदेश गर्नेछ ।
(४) उपनियम (३) बमोजिम आदेश भएमा अदालतले निवेदकलाई पुनरावेदन दस्तुर र प्रत्यर्थीका नाममा सूचना जारी गर्न प्रत्येक व्यक्तिपिच्छे दश रुपैयाँका दरले आवश्यक दस्तुर दाखिला गर्न लगाउनेछ ।
(५) निवेदकले अनुसूची–३ बमोजिमको दस्तुर र सूचना बापतको दस्तुर दाखिला गरेमा पुनरावेदनको अनुमतिको निवेदनलाई पुनरावेदन सरह दर्ता गरिनेछ । त्यसरी दर्ता गर्दा सो पुनरावेदन पुनरावेदनको अनुमतिको निवेदनको रोहबाट दर्ता हुन आएको हो भनी चिनिने गरी छुट्टै सङ्केत नम्बर दिनु पर्नेछ ।